दमौली (तनहुँ), चैत १९-
तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा एक हजार पाँच सय जनाको परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित सो शिविरमा मोतियाविन्दुको समस्या देखिएका ११० जनाको शल्यक्रिया समेत गरिएको छ ।
आइतबारदेखि सुरु भई बुधबार सकिएको शिविर अन्तर्गत भानु–१३, भानु –९, भानु–१ र भानु –३ मा आँखा शिविर सञ्चालन गरिएको थियो । आर्थिक अभावका कारण उपचारबाट वञ्चित स्थानीयवासीका लागि शिविरले सहयोग गरेको बताइएको छ । नेत्र विशेषज्ञ डा मारिया गौतम सहितको टोलीले आँखाको शल्यक्रिया गरेका थिए ।
भानु–२ नारेश्वटारस्थित भानु सामुदायिक स्वास्थ्य केन्द्रमा समस्या भएकाको शल्यक्रिया गरिएको स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आँखा जस्तो संवेदनशील अङ्गको उपचार समयमै हुनसकेन भने मानिसको जीवनस्तरमा प्रत्यक्ष असर पर्छ । भानु नगरपालिकाले यही कुरालाई ध्यानमा राख्दै प्रत्येक वर्ष निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ । यसवर्ष पनि उल्लेख्य सङ्ख्यामा बिरामीहरूले सेवा लिनुभएको छ ।”
आँखा परीक्षणका लागि सदरमुकाम दमौली, पोखरा वा चितवन जानुपर्ने बाध्यताको अन्त्यका लागि नगरपालिकाले स्थानीयस्तरमै शिविर गरी शल्यक्रिया सेवा प्रदान गरेको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।“स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो । त्यसैले टाढाटाढा धाउनुपर्ने अवस्थाको अन्त्य गर्न हामीले आफ्नै नगरभित्र विशेषज्ञ सेवा ल्याएका हौँ,” उहाँले भन्नुभयो, “यसले विशेषगरी आर्थिक रूपमा कमजोर तथा ज्येष्ठ नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ ।” रासस








