चितवन, फागुन ४-
भरतपुरको चौविसकोठीमा मंगलबार(आज) चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष कुलमान घिसिङले पुराना दलले देशमा काम नगरेका कारण नयाँ दलहरुको उदय भएको बताए ।उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङले राजनीति क्षेत्रको लोडसेडिङ अन्त्य गर्न उज्यालो नेपाल पार्टी जन्मेको बताएका छन् ।
‘हिजो लोडसेडिङको अन्त्य भयो । यो देशमा अझै धेरै क्षेत्रको लोडश्रेडिङ छ । सबैभन्दा ठुलो राजनीतिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न उज्यालो नेपाल पार्टी जन्मेको हो,’ कार्यकर्तालाई सम्बोधन गर्दै घिसिङले भने ‘राजनीतिक क्षेत्रको बेतिथी र अध्यारोलाई हटाएर उज्यालो बनाउनुछ ।’ उनले अहिलेको लडाई पुराना र नयाँ पार्टी बिचको भएको बताउँदै जेनजी आन्दोलनबाट उज्यालो पार्टी जन्मिएको बताए । उनले उज्यालो पार्टीले धेरै सिट जित्ने समेत दाबी गरे ।
देशलाई अगाडि बढाउने रोड म्याप ल्याएर आएका छौँ । यस पार्टी यो देशको समृद्धिको लागि हो । यस पार्टीलाई अत्याधिक मतले विजयी गराउनुपर्छ,’– उनले भने । उनले चितवनमा आफूहरुले जित्ने दाबी गर्दै मत दिन जनतलाई अपिल समेत गरे ।
उनले आर्थिक रुपमा रुपान्तरण र देशलाई समृद्ध तर्फ अगाडि बढाउन आफू लागि पर्ने बताए । लोडसेडिङ अन्त्यगरी देशलाई आमनिर्भर बनाएर रोजगारी सृजना गर्ने दाबी समेत गरे ।








