चितवन, फागुन २
तेस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिमा अर्किड सेकेण्डरी स्कुलले उचालेको छ ।
आज (शनिबार) भएको फाइनल प्रतिस्पर्धामा नारायणी नमुना माध्यमिक विद्यालयलाई २ विकेटले पराजित गर्दै अर्किडले उपाधि जितेको हो । योसंगै अर्किडले मेयर कपको उपाधिमा ह्याट्रिक गरेको छ । जितका लागि नारायणी नमुना माविले दिएको ९५ रनको लक्ष्य अर्किडले १८ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो ।
अर्किडको जितमा गौरव न्यौपानेले अविजित २०, कप्तान मन्दिप बरालले १९ रन बनाए । साहिल उस्मानी र आयुष ढकालले समान १४ रन बनाए ।
नारायणी नमुना माविका सुनिल प्रसाद गुप्ताले ४ ओभरमा १२ रन मात्र खर्चिदै ३ विकेट लिए भने शेख रेयाजुदिन र आकाश कुमार यादवले समान २–२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नारायणी नमुनाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउ“दै ९४ रन बनाएको थियो । उसका लागि मिसभत अलिले २४, शेख रेयाजुदिन र प्रमोद कुमार यादवले समान ११ रन बनाए ।
अर्किडका कप्तान मन्दिप बरालले ४ ओभरमा २३ रन खर्चिदै ३ विकेट लिए भने प्रशिद्ध अर्यालले २ र अमुल कार्कीले एक विकेट लिए । खेलमा अर्किडका कप्तान मन्दिप प्लेयर अफ द म्याच घोषित भए ।
मन्दिप नै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट बलर घोषित भए । नारायणी नमुना माविका कप्तान बिकि शाह उत्कृष्ट ब्याटर घोषित भए ।
प्रतियोगिताका विजेता तथा उपविजेता टिमहरुलाई भरतपुर महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख सुवास चन्द्र आचार्य, चितवन जिल्ला क्रिकेट संघका कार्यवाहक अध्यक्ष उमेश पिया, भरतपुर महानगर क्रिकेटका संयोजक मनिष सापकोटा, प्रतियोगिताका निर्देशक प्रशान्त पियाले विजेता तथा उपविजेता टिमहरुलाई पुरस्कार वितरण गरेका थिए ।
भरतपुर महानगरपालिकाको आयोजना र चितवन जिल्ला क्रिकेट संघको संयोजनमा भएको प्रतियोगितामा महानगर भित्रका संस्थागत तथा सामुदायिक गरी ४२ विद्यालयको सहभागिता रहेको थियो ।








