पुष २७,नवलपुर ।
गैंडाकोटस्थित अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (OCEM) को आयोजनामा दोस्रो अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। “Innovation for Sustainable Future: Advancing Green Technologies & Multidisciplinary Research Trends” शीर्षकमा आयोजित यो सम्मेलन पौष २५ र २६ गते दुई दिनसम्म सञ्चालन गरिएको हो।
यसअघि भदौ २७–२८ गतेका लागि तय गरिएको सम्मेलन देशमा उत्पन्न प्रतिकूल परिस्थितिका कारण स्थगित भई पुनः नयाँ मितिमा आयोजना गरिएको आयोजकले जनाएको छ। सम्मेलनमा नेपालसहित १० भन्दा बढी देशका प्रतिष्ठित शिक्षाविद्, अनुसन्धानकर्ता, वैज्ञानिक तथा नीति निर्माण तहका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सम्मेलनमा दिगो विकास, हरित प्रविधि, नवप्रवर्तन तथा बहुविषयक अनुसन्धानका विविध विषयमा गहन छलफल, कार्यपत्र प्रस्तुति र अन्तरक्रिया सत्रहरू सञ्चालन गरिएका थिए। अन्तर्राष्ट्रिय विज्ञहरूले हरित प्रविधिको प्रयोग, वातावरणीय संरक्षण, दिगो विकास लक्ष्य (SDGs) र आधुनिक अनुसन्धान प्रवृत्तिबारे महत्वपूर्ण विचार तथा सुझाव प्रस्तुत गरेका थिए।
सम्मेलनको पहिलो दिन प्रमुख अतिथिका रूपमा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. प्रेम नारायण अर्याल र दोस्रो दिन कृषि विश्वविद्यालय रामपुरकी उपकुलपति प्रो. डा. सारदा थपलियाको गरिमामय उपस्थिति रहेको थियो। सम्मेलनको सभापतित्व OCEM का प्रिन्सिपल प्रा. डा. हरि भण्डारीले गर्नुभएको थियो। उहाँले शैक्षिक संस्था र अनुसन्धानले समाज रूपान्तरणमा खेल्ने भूमिकाबारे जोड दिँदै अनुसन्धानमुखी कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
आयोजकका अनुसार सम्मेलनमा ३४ वटा शैक्षिक संस्थाबाट ६३ समूहले सहभागिता जनाएका थिए भने विभिन्न देशका विज्ञहरूले आफ्ना अनुसन्धान कार्यपत्र प्रस्तुत गरेका थिए। Bachelor र Master तहमा अध्यापनरत सम्पूर्ण प्राध्यापकहरूको सक्रिय सहभागिताले सम्मेलनलाई थप प्रभावकारी बनाएको जनाइएको छ।
अनुसन्धान विभाग प्रमुख प्रो. डा. बसन्त प्रसाद अधिकारीले सम्मेलनले कलेजमा अनुसन्धान संस्कृतिलाई सुदृढ बनाउनुका साथै अन्तर्राष्ट्रिय सहकार्यका नयाँ अवसर सिर्जना गरेको बताउनुभयो। त्यस्तै, भाइस प्रिन्सिपल कृष्णहरि पौडेलले सम्मेलनले कलेजको शैक्षिक प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै आगामी दिनमा अझ ठूलो स्तरका सम्मेलन आयोजना गर्ने योजना रहेको जानकारी दिनुभयो।
दुई दिनसम्म चलेको सम्मेलनले अनुसन्धान, नवप्रवर्तन र दिगो विकासका क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने सहभागीहरूको धारणा रहेको छ।






