अमरगढी (डडेल्धुरा), मंसिर १६ –
डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले गत असोज १० गतेदेखि १६ वर्ष उमेर पूरा भई नागरिकता प्राप्त व्यक्तिलाई नाम दर्ताका लागि आह्वान गरेसँगै नयाँ मतदाता सङ्ख्या बढेको हो ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख करुणाकर अवस्थीका अनुसार नयाँ दर्तामध्ये एक हजार २७२ जनाले अनलाइन प्रणालीमार्फत विवरण भरेर मतदाता परिचयपत्रका लागि आवेदन गरेका छन् । उहाँका अनुसार ६२० जनाको नाम दर्ता बायोमेट्रिक विवरणका आधारमा गरिएको छ ।
आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि असोज १० देखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली सङ्कलन खुला गरेको थियो । यस अवधिमा त्रुटि सच्याउन ७६ जना र नामावली स्थानान्तरणका लागि ३२५ जनाले अनलाइनमार्फत आवेदन दिएका कार्यालयले जनाएको छ ।
डडेल्धुरामा जम्मा महिला ४५ हजार ९८३ र पुरुष ४५ हजार ९३६ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मतदानस्थल पुनःव्यवस्थित गर्ने र मतदाता विवरण अद्यावधिक गर्ने काम तीव्रताका साथ जारी रहेको कार्यालयका प्रमुख अवस्थीले बताउनुभयो ।
उहाँका अनुसार जिल्लामा चार वटा नयाँ मतदानस्थल थप्न सिफारिस गरिएको छ । विसं २०७९ को निर्वाचनमा १३९ मतदान केन्द्र र १०१ मतदानस्थल रहेकामा यसपटक एउटा पुरानो मतदानस्थल हटाई चार नयाँ मतदानस्थल थप्ने प्रस्ताव निर्वाचन आयोगमा पठाएको हो । रासस









