पाटन (ललितपुर), मङ्सिर १५ –
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अरनिकोको जन्मस्थललाई प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभएको छ ।
आज ललितपुर महानगरपालिका–६ कनिबहाल पुगेर वडा कार्यालयको अवलोकनपश्चात् ओकुबहालमा रहेको रुद्रवर्ण महाविहार र अरनिकोको जन्मस्थलको अवलोकन गर्दै मन्त्री खरेलले सम्पदा भएको क्षेत्रको प्रचारप्रसार गरेर राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा यसको महत्वका बारेमा उजागर गर्दै पर्यटकहरुलाई आकर्षित गर्नुपर्ने बताउनुभयो ।
“चीनसम्म पुगेर मूर्तिकलाको प्रचारप्रसारमा राष्ट्रिय विभूति अरनिकोले पु¥याउनु भएको योगदान अतुलनीय छ हामी संस्कृति र सम्पदामा धनी छौँ, हाम्रो पुर्खाको जति सुझबुझले महत्वपूर्ण सम्पदाहरु बनेका छन्, सम्पदा नहुने हो भने नेपाल त कङ्क्रिटको जङ्गल हुने थियो,” उहाँले भन्नुभयो ।
मन्त्री खरेलले १३औँ शताब्दीको कलाकौशल भएको रुद्रवर्ण महाविहार, महाबुद्ध, विद्याधरी देवी मन्दिरसहित सम्पदास्थलको अवलोकन गर्नुभयो ।
ललितपुर महानगरपालिका–६ का अध्यक्ष रुपेन्द्रराज शाक्यले सङ्घीय सरकारबाट वडाका लागि बजेट ल्याउन कठिनाइ रहेको बताउँदै सङ्घीय सरकारले दिने बजेटमा काम गर्न पनि समस्या रहेको गुनासो गर्नुभयो । उहाँले सञ्चारमन्त्री खरेलसँगसम्पदा संरक्षणका लागि बजेट उपलब्ध गराउन आग्रह गर्नुभयो । रासस















