कात्तिक २६, भरतपुर–
जेजनी पुस्ताको आन्दोलनका क्रममा भदौ २३ गते गोली चलाएर २२ जनाको हत्यामा तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकार दोषी रहेको एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले ठोकुवा गरेका छन्।
बुधबार चितवनमा पत्रकारसँगको कुराकानीका क्रममा उनले धरहरा बनाएको जस लिनेले गोली हानेको अपजसको भागीदारी पनि सहनुपर्ने बताएका हुन्।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘गोली कसले चलाएको थाहा छैन’ भन्नु गलत रहेको बताएका पाण्डेले भने,‘धरहराचाहिँ ओली सरकारले बनायो भन्ने अनि गोली चलाएकोचाहिँ नैतिक जिम्मा नलिने भन्ने हुन्न।’
२३ गतेको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग गर्दै पाण्डेले भदौ २४ गतेको घटना पनि अक्षम्य रहेको बताए।
देशमा कानूनी शासन स्थापित गर्न पनि दुवै दिनका घटनाका दोषीले उन्मुक्ति पाउनु नहुने पाण्डेको भनाइ छ।
जेन–जी आन्दोलन एमालेको भलीभाँति कमजोरीको उपज भएको दाबी गरेका छन्। पार्टी र सरकारका संयन्त्रलाई यति ठूलो आन्दोलन र विध्वंसको सूचना नहुनु कमजोरी रहेको उनले बताए।














