काठमाडौँ, १६ कात्तिक :
बाढी पहिरोका कारण देशका विभिन्न राजमार्गहरूमा सवारी आवागमनमा ठप्प रहेको छ । विशेषगरी कोशी प्रदेश र बागमती प्रदेशका केही मुख्य सडकहरू बाढी–पहिरोका कारण प्रभावित भएका छन् । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा भने अवस्था सामान्य बन्दै गएको देखिएको छ ।
कोशी प्रदेशमा चार राजमार्ग पूर्ण रूपमा अवरुद्ध र दुई वटा एकतर्फी सुचारु रहेको जनाएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ बरुणखोलामा अविरल वर्षाका कारण कोशी राजमार्ग अवरुद्ध छ ।
यस्तै इलाममा मेची राजमार्ग रातको समयमा सञ्चालनमा रोक लगाइएको छ । पाँचथरको तुम्वेवा गाउँपालिका–२ र धनकुटा चौविसे गाउँपालिका–४ चारखोलेमा बाढि पहिरोका कारण तममोर करिडोर र मिक्लाजुङ गाउँपालिका–७ ऐनेभिर राँके रबि भेडेटार सडक पूर्ण रूपमा अवरुद्ध छ ।
यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिका–६ चारखोलेमा अविरल वर्षका कारण र तेह्रथुमको म्याङलुङ नगरपालिका–६ सिस्ने खोलामा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग एकतर्फी सुचारु छ ।














