४ कात्तिक, काठमाडौं ।
राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले अन्तर व्यवस्थापिका संघको १५१ औं सभालाई सम्बोधन गर्दै नेपालको जेनजी आन्दोलनबारे चर्चा गरेका छन् ।
स्वीट्जरल्याण्डको जेनेभा जारी सभालाई सम्बोधन गर्दै उनले भने, ‘नेपालमा हालको स्मरणयोग्य जेनेरेशन जेडको भ्रष्टाचारविरोधी आन्दोलनबाट उत्पन्न परिस्थितिलाई राष्ट्र र राष्ट्रिय एकता, संवैधानिक तथा लोकतान्त्रिक मान्यतालाई ध्यानमा राख्दै समाधान गर्ने दिशातिर गइरहेका छौँ ।’
जेनजीको माग सामाजिक न्याय र समावेशी लोकतन्त्रको विकाससँगै भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने रहेको पनि अध्यक्ष दाहालले भने ।
संघीय संसद जेनजीका लक्ष्यहरू पूरा गर्ने केन्द्र बिन्दु भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘हामी यस परिवर्तनबाट प्राप्त अवसरको उपयोग गर्न प्रयत्नरत छौँ ।’
सुशासन कायम गरि जनता र लोकतन्त्रको पक्षमा आफ्नो जीवन बलिदान गर्ने जेनजी सहिदहरूप्रति सभामा उनले भावपूर्ण श्रद्धासुमन समेत अर्पण गरे ।
गत भदौ २३ र २४ गते नेपालमा जेनजी आन्दोलन भएको थियो । आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारले आगामी फागुन २१ गते चुनाव गर्ने मान्डेड पाएको छ ।
अन्तरिम सरकारले समयमै प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरे ।
विश्वव्यापी भाइचारार सद्भावलाई विभिन्न कोणबाट चुनौती थपिएको अनुभूति भइरहेको उल्लेख गर्दै उनले साइबर अपराध, स्वचालित हतियार र एआई लगायतको दुरूपयोगबाट सिर्जित समस्यालाई संसदीय कूटनीतिमार्फत् नियन्त्रण गर्न सकिने उनले बताए । यसका लागि आईपियू अन्तर्गत मानवीय कानूनको अनुपालनाको अनुगमन गर्न, असल अभ्यास अनुसरण गर्न र विश्वव्यापी एकतालाई सुदृढ गर्न जरूरी छ।
नेपालसँग संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा सहभागिताको लामो अनुभव रहेको उल्लेख गर्दै उनले थपे, ‘विगतमा वार्ताको माध्यमबाट सशस्त्र द्वन्द्वलाई कुशलता पूर्वकशान्ति प्रक्रियामा सफल रूपान्तरण गरि द्वन्द्व व्यवस्थापन गरेको अभूतपूर्व अनुभवको दृष्टान्त पनि विश्वसामु प्रष्ट नै छ । साथै संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐन संशोधन गरि लागु गरिएको छ।’