काभ्रेपलाञ्चोक, असोज ३१ —
काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले तिहारमा माटोले घर लिपपोत गरी परम्परागत संस्कृतिलाई जोगाउन स्थानीयलाई अनुरोध गरेको छ ।
गाउँसभाबाटै खानीखोलाका बासिन्दाले दिपावलीका अवसरमा एकरुपता आउने प्रकारका रङका माटोले लिपपोत गर्ने निर्णयसमेत भएको थियो । परम्परागत संस्कृतिलाई पुनर्जीवित गर्ने उद्देश्यले गत असारमा सम्पन्न गाउँसभाले उक्त निर्णय गरेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताउनुभयो । उहाँद्वारा जारी सार्वजनिक अपिलमा आधुनिकतासँगै गाउँघरमा माटोले घर लिप्ने चलन घट्दै गएकाले गाउँको मौलिकता, सौन्दर्य र सांस्कृतिक पहिचान कमजोर बनाएको जनाउँदै आउँदो तिहारदेखि कमेरो (सेतो माटो) र रातो माटोले घर लिपपोत गर्ने अनुरोध गरिएको हो ।
“दीपावलीमा घरआँगन माटोले लिप्ने चलन केबल धार्मिक वा सौन्दर्यका लागि मात्र नभई सामाजिक एकता र परम्पराको संरक्षणमा अति महत्वपूर्ण देखिन्छ”, थिङले भन्नुभयो । पुर्खाले सदियौँदेखि दीपावलीमा कमेरो र रातो माटोले घरआँगन लिप्ने परम्परा जोगाउँदै आएकाले यस वर्षदेखि हरेकका घरमा उक्त परम्परा जोगाउने अभियान नै थालिएको गाउँपालिकाले जनाएको छ । यसबाट नागरिकका घर शृङ्गारिकता देखिने तथा पर्यटन प्रवद्र्धन महत्वपूर्ण भूमिका खेल्ने जनाइएको हो ।
अभियानका लागि गाउँपालिकाको सबै नागरिक, टोल समिति तथा विद्यार्थीलाई सक्रिय सहभागिता जनाउन आग्रह गरिएको छ । रासस