काठमाडौँ, १० असोज :
सरकारले जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट फरार कैदीबन्दीलाई १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’ दिएको छ । गृह मन्त्रालयले आज (मन्त्रीस्तरबाट) फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
मन्त्रालयले कारागार बाहिर रहेका कैदीबन्दीलाई खोजी, नियन्त्रण र पक्राउ गरी कारागारमा शीघ्र फिर्ता ल्याउन सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि सदस्य रहनेगरी फरार बन्दी खोजी तथा पक्राउ कार्यदलसमेत गठन गरेको छ ।
फरार कैदीबन्दीको खोजी, नियन्त्रण तथा पक्राउ अभियानलाई अझ सघन रूपमा अघि बढाउन मन्त्रालयले कार्यदल, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र कारागार व्यवस्थापन विभागलाई स्पष्ट कार्यादेशसमेत दिएको विभागद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कारागार फर्किन बाँकी कैदीबन्दीलाई यही असोज २० गते सोमबारभित्र कारागार फर्किन र सो समयभित्र नफर्किए प्रचलित कानुनबमोजिमको कारबाही हुने विभागले जनाएको छ । गठित कार्यदलले जिल्लाका सबै सुरक्षा एकाइ, सबै स्थानीय तह, सञ्चारमाध्यम, सम्बन्धित सरकारी कार्यालयसँग समन्वय र सूचना प्रकाशन गरी प्रचारप्रसार गर्ने व्यवस्था मिलाई फर्किन बाँकी कैदीबन्दीको नामावलीसमेत उपलब्ध गराउनेछ ।
जेनजी प्रदर्शनका क्रममा विभिन्न २८ वटा कारागार र नौवटा बाल सुधारगृहबाट १४ हजार ५५३ कैदीबन्दी र बालबन्दी भागेका थिए । त्यसमध्ये आजसम्म आठ हजार १९९ बन्दी कारागार फर्केका छन् भने अझै छ हजार ३५४ कैदीबन्दी फरार रहेको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले राससलाई जानकारी दिनुभयो ।