८ असोज, धनगढी ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलमा मन्त्री र सांसदले सचिवालयमा परिवारका सदस्यलाई नराख्ने प्रस्ताव गरिएको छ ।
मंगलबार बसेको संसदीय दलको बैठकमा पूर्व मुख्यमन्त्री समेत रहेका दल नेता राजेन्द्र सिंह रावलले मन्त्री र सांसदले सचिवालयमा परिवारका सदस्य नराख्ने प्रस्ताव गरेका हुन् ।
रावलले सचिवालयमा परिवार तथा नातेदारलाई नियुक्त गरेकाहरुले समेत नियुक्ति खारेज गर्नुपर्ने कुरा बैठकमा राखेका थिए । खासगरी अहिले प्रदेशका कतिपय मन्त्रीले स्वकीय सचिव, सवारी चालक र भान्सेमा परिवारकै सदस्य तथा नातेदार राखेका छन् ।
उक्त कुरालाई लिएर आलोचना हुने गरेको छ । ‘दलका नेता कमरेडले बैठकमा मन्त्री र सांसदले निजी सचिवालयमा परिवारका सदस्य नराख्ने र राखेकाहरुले पनि तत्काल हटाउनुपर्ने प्रस्ताव गर्नुभएको छ,’ बैठकमा सहभागी एक सांसदले भने, ‘उहाँको प्रस्तावमा सबै जना सकारात्मक देखिनुभएको छ । परिवार र नजिकका नातेदारको ठाउँमा पार्टीकै कुुनै भूमिकामा भएको दक्ष व्यक्तिलाई जिम्मेवारी दिनु राम्रो कुरा हो ।’
बैठकले जेनजी आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी र लुटपाटको छानबिन गर्न संसदीय समिति बनाउने निर्णय गरेको छ भने सबै सांसदहरुलाई जिल्ला केन्द्रीत हुन निर्देशन दिएको छ ।
सांसदहरु जिल्लामा पुगेर त्यहाँ भएको क्षतिको बारेमा अध्ययन गरेर प्रतिवेदन बनाउने निर्णय पनि गरिएको छ ।