काठमाडौँ, ६ असोजः
नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते निर्वाचन, भ्रष्टाचार नियन्त्रण र पुनःनिर्माणका काममा सरकार केन्द्रीत हुने बताउनुभएको छ ।
आज सिंहदबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि मन्त्रालयका उच्च कर्मचारी र मातहतका निकायका प्रमुखलाई निर्देशनसहितको मन्तव्य दिँदै उहाँले जनताले महसुस गर्ने गरी अन्तरिम सरकारले काम गर्ने बताउनुभयो ।
वर्तमान सरकार जेनजीको बलिदानको जगमा उभिएको उल्लेख गर्दै मन्त्री खरेलले नयाँ पुस्ता एवं नागरिकको कार्यदेशअनुसार सुशासन कायम, भ्रष्टाचार नियन्त्रणको आधार निर्माण र जनतालाई मौलिक अधिकारको महसुस हुने गरी काम गर्ने बताउनुभयो ।
“हामीलाई जेनजी र नागरिकबाट धेरै ठुलो कार्यदेश छैन, सरल छन्, तर बहुत जटिल र चुनौतीपूर्ण काम छन्”, उहाँले भन्नुभयो, “भौतिक पुनःनिर्माणले मात्र पुग्दैन । जनताको मनमा घाउ लागेको, त्यसको दाग अझै पनि छ । त्यसलाई पुनःनिर्माण गर्न त्यति सजिलो छैन ।
त्यसैले दूर दराजका जनताको घरसम्म सरकार र हामी सबै उपस्थिति हुनुपर्छ । त्यो उपस्थितिले सुशासन, आर्थिक समृद्धि, रोजगारी, शिक्षा, स्वास्थ्यलगायत संविधानअन्तर्गतका मौलिक अधिकार कार्यान्वयनको महसुस गर्न पाए मात्र घाउमा मलम लाग्छ ।”