मुस्ताङ, ३ असोज :
दसैँका लागि मुस्ताङ हुँदै १३ हजार ५७५ वटा भेडाच्याङ्ग्रा अन्य जिल्ला पठाइएको छ ।
यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रकाअनुसार कर्णाली प्रदेशको मुगु, जुम्ला र डोल्पाबाट भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै अन्य जिल्ला पठाइएको हो । केन्द्रका पशु चिकित्सक लालमणि अर्यालले मुस्ताङकै किसानका छ हजार ६०० भेडाच्याङ्ग्रा जिल्ला बाहिर पठाइएको जानकारी दिनुभयो ।
कर्णाली प्रदेशको जुम्लाबाट ७७५, मगुबाट पाँच सय र डोल्पाबाट पाँच हजार चार सय भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै अन्य जिल्ला पठाइएको पशु चिकित्सक अर्यालले बताउनुभयो ।
मुस्ताङबाट अझै थप एक हजारको हाराहारीमा भेडाच्याङ्ग्रा जिल्ला बाहिर पठाइने अनुमान गरिएको छ । गतवर्ष दसैँमा मुस्ताङबाट नौ हजार बढी भेडाच्याङ्गा अन्य जिल्ला पठाइएको थियो ।
गत वर्षको तुलनामा औसत २० प्रतिशतभन्दा बढी भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै बाहिरी जिल्ला पठाइएको पशु चिकित्सक डा अर्यालले उल्लेख गर्नुभयो ।
यस वर्ष ५० प्रतिशत मुस्ताङबाट र ५० प्रतिशत कर्णाली प्रदेशबाट मुस्ताङको जोमसोम, घाँसा हुँदै पठाइएको हो । कास्कीका भेडाच्याङ्ग्रा व्यापारी पूर्णबहादुर रानाभाटले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ ताङग्याबाट कृषकहरूको खोरबाटै २३५ वटा च्याङ्ग्रा खरिद गरी बिक्रीका लागि पोखरा लैजाने तयारी गरेको बताउनुभयो । उपल्लो मुस्ताङका कृषकहरूको गोठमै पुगेर च्याङ्ग्रा छनोट गरी ल्याएको उहाँको भनाइ छ । यसपटक कृषकको खोरमै गतवर्ष भन्दा केही बढी मूल्य परेको उहाँले बताउनुभयो ।