१ असोज, काठमाडौं ।
प्रतिनिधि सभा विघटन भएसँगै संघीय संसद्मा विचाराधीन ३० वटा विधेयक निष्किृय भएका छन् ।
संविधानत: प्रतिनिधि सभा विघटन भएपछि प्रतिनिधि सभामा उत्पति भएका र राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पुगेका दुवै खाले विधेयक निष्किृय हुन्छन् । तर, राष्ट्रिय सभामा उत्पति भएका र राष्ट्रिय सभामै रहेका विधेयक भने निष्किृय हुँदैनन् । विधायन व्यवस्थापन समितिका सचिव मनोजकुमार गिरीका अनुसार यस्ता विधेयकको संख्या पाँच वटा रहेका छ .
राष्ट्रिय सभामा बाँकी रहेका विधेयक हुन-अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, चलचित्र विधेयक, पर्यटन विधेयक, सामाजिक सञ्जाल विधेयक र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक । यी पाँचवटै विधेयक विधायन समितिमा रहेका छन् ।
विधायन समितिका सचिव गिरीका अनुसार राष्ट्रिय सभामा उत्पति भएर पारित भएर प्रतिनिधि सभामा सात वटा विधेयक पनि निष्कृय भएका छन् ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधि सभा विघटन भएको अवस्थामा प्रतिनिधिसभामा विचाराधीन रहेका वा प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा गएका निष्क्रिय भएको छ ।
यस्तो प्रावधान संविधानको धारा १११ मा छ । ‘कुनै विधेयक प्रतिनिधि सभामा प्रस्तुत भई विचाराधीन रहेको वा प्रतिनिधि सभामा पारित भई राष्ट्रिय सभामा विचाराधीन रहेको अवस्थामा प्रतिनिधि सभा विघटन भएमा वा त्यसको कार्यकाल समाप्त भएमा त्यस्तो विधेयक निष्क्रिय हुनेछ’ संविधानको धारा १११ को उपधारा १० मा भनिएको छ ।