३१ भदौ, काठमाडौं ।
सेनाको सुरक्षामा रहेका अधिकांश नेताहरू फर्किएका छन् । जेनजी प्रदर्शन उग्र बनेपछि सुरक्षाका लागि सेनाको ब्यारेकमा रहेका नेताहरू अहिले भने फर्किएका हुन् ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र केही नेता बाहेक अधिकांश नेताहरूलाई ब्यारेकबाट पठाइसकिएको सैनिक स्रोतले बतायो । केही नेताहरूको भने सुरक्षा र बस्ने प्रबन्ध मिल्नै बाँकी रहेकाले सेनाको सुरक्षामा रहेको बताइएको छ ।
सेनाको सुरक्षामा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त आज मंगलबार पार्टी कार्यालय पेरिसडाँडा पुगेर निरीक्षण समेत गरेका छन् ।
विपक्षी दलहरूको बैठक सिंहदरबारमा डाकेका बेला प्रचण्ड, माधवकुमार नेपाललगायत नेताहरू सिंहदरबारमै थिए । उनीहरूलाई त्यहीँबाट सेनाले सुरक्षित ठाउँमा लगेको थियो ।
निवर्तमान मन्त्रीहरूलाई पनि सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा लगिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारबाटै सेनाको हेलिकप्टरबाट सुरक्षित स्थानमा लगिएको थियो ।
जेनजी आन्दोलन बिस्तारै मत्थर हुँदै गएको र अन्तरिम सरकार समेत गठन भएपछि सेनाले उनीहरूलाई धमाधम फिर्ता पठाएको हो । सेनाको ब्यारेकबाट फर्किएका नेताहरूको सुरक्षा चुस्त पारिएको बताइएको छ ।
भीआईपी सुरक्षा कार्यविधिअनुसार उनीहरूलाई सुरक्षा प्रदान गरिएको छ । बढी सुरक्षा थ्रेट हुनेहरूलाई सोही अनुसार सुरक्षाकर्मीहरू उपलब्ध गराइएको बताइएको छ ।
उच्च तहका नेताहरूको घरहरू आगजनीबाट नष्ट भएका छन् । अहिले उनीहरू आफन्त तथा साथीहरूकोमा बस्ने गरेको बताइएको छ । केहीले भने डेरा लिएर बस्न थालेको सुरक्षा स्रोतले बताएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजु देउवा भने प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका थिए । उनीहरूको अहिले पनि उपचार जारी छ ।