३० भदौ, काठमाडौं ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी युवाहरूको आकांक्षा पूरा गर्नका लागि अघि बढ्ने क्रममा हुँदाहुँदै पनि गत २३ र २४ भदौमा जेनजीहरूको प्रदर्शन भएको टिप्पणी गरेका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलको अनुगमनपछि कार्यकर्ता तथा सञ्चारकर्मीलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
भदौ २०, २१ र २२ गते आयोजित पार्टीको विधान महाधिवेशनमा पनि युवाहरूको आकांक्षा सम्बोधन गर्नेगरी विविध छलफल भएको र त्यही अनुसार अघि बढ्न खोजिएको समेत उनले बताएका छन् ।
‘मलाई लाग्छ युवाहरूले धैर्यता गरेको भए नेकपा एमाले नै उहाँहरूको आकांक्षा पूरा गर्ने पार्टीका रुपमा अगाडि आउँदै थियो,’ उनले भने, ‘हामीले त्यस प्रकारका संकल्प र योजना अघि सारेका थियौं । बिडम्बना भन्नुपर्छ, हामीले त्यस प्रकारका योजना र संकल्प वयवहारमा लागू गर्न पाएनौं ।’
उनले अहिले बनेको अन्तरिम सरकारले समयमै निर्वाचन गराउने कुरामा ध्यान दिनुपर्ने समेत बताए ।
‘यो सरकार अन्तरिम भएकाले पनि उसको कर्तव्य हो समयमै निर्वाचन गराउने कुरा । शान्ति सुरक्षाको वातावरण तयार गरेर समयमा निर्वाचन गराउने कुरामा सरकारको ध्यान जानेछ । सबै लोकतान्त्रिक पार्टी जनतामा गएर अभिमत प्राप्त गर्ने प्रक्रियामा प्रवेश गरेको छ,’ उनले भने, ‘सधैंभरी सडक जनमत प्राप्तिको माध्यम हुन सक्दैन, हुन हुँदैन । एउटा युगले ल्याएको परिवर्तनलाई संविधानमा संश्लेषण गरिसकेपछि परिवर्तनको आधार संविधानलाई बनाउन नसक्ने हो भने मुलुक कहिल्यै पनि परिवर्तनको आधारमा अघि बढ्न सक्दैन ।’
सम्बोधनको क्रममा पोखरेलले सधैँ सडकबाट मात्रै स्थायित्व र विकास हुन नसक्ने समेत जिकिर गरे ।
‘समाधान सधैँ सडकबाट खोज्ने हो भने स्थायित्व र विकास हुन सक्दैन । मुलुकलाई संविधानतर्फ फर्काउनका लागि तोकिएकै समयमा निर्वाचन गर्न जरुरी छ,’ पोखरेलले भने, ‘हाम्रो पार्टी अहिले उठिरहेका प्रश्नको जवाफ दिन सक्षम छ, युवाको भावनालाई सम्बोधन गर्न, परिवर्तनको आकांक्षालाई बोक्न र मुलुकको विकास र समृद्धिको नेतृत्व गर्न सक्षम छ ।’
उनले युवाहरूका आकांक्षा समयमै पूरा गर्न नसकेको सत्य भएको स्वीकादै देशभक्ति, सुशासन, विकास र समृद्धिमाथि प्रश्न गर्ने कुरा उचित नहुने पनि बताए ।
पोखरेलले थप अघि भने, ‘हामी फेरि उठ्नेछौं । अझै एकताबद्ध र जनताको भावनालाई सम्बोधन गर्नेगरी हामी उठ्नेछौं ।’