२५ भदौ, काठमाडौं –
नेपाली कांग्रेसले देश अहिले राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा रहेको जनाउँदै राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति–सुरक्षा कायम हुन जरुरी रहेको औंल्याएको छ ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रेस नोट जारी गर्दै नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा सोमबार दु:खद घटना भएको बताए । युवा र सुरक्षाकर्मीहरुले ज्यान गुमाउनुपरेको पीडादायी अवस्था दुखदायी भएको महतले उल्लेख गरेका छन् ।
२४ भदौमा प्रदर्शनका क्रममा भएको गतिविधि लोकतान्त्रिक बिरोधको मर्म र मान्यताबाट बाहिर गएको महतको भनाइ छ ।
‘देश, जनता र लोकतन्त्र प्रती प्रतिवद्द नवयुवाहरुले अवश्य पनि यस्तो चाहेका थिएनन । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ,’ प्रेस नोटमा भनिएको छ ।
हिजोको घटनाबाट १० वर्षे माओवादी द्वन्द्वको बेला भन्दा धेरै बढी क्षति भएको महतले उल्लेख गरेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा लगायत अन्य नेताहरू माथि भएको सांघातिक आक्रमणको उनले निन्दा गरेका छन् ।
लोकतान्त्रिक प्रक्रियाको पुन:स्थापना र संरक्षणका लागि फेरि सक्रिय हुन आवश्यक रहेको महतले बताए । राष्ट्रपतिको अगुवाईमा हुने संवाद र पहलमा कांग्रेसले सक्रिय पहल गर्न आवश्यक रहेको उनले बताए ।