काठमाडौँ भदौ २३
आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर औँसीसम्मको १६ दिनलाई सोह्र श्राद्ध वा महालय श्राद्ध भनिन्छ । यस अवधिमा दिवङ्गत पितृप्रति श्रद्धा अर्पण गर्ने परम्परा छ । यस वर्ष सोह्र श्राद्ध भाद्र २३ गते सोमबारदेखि सुरु भई आश्विन ५ गते आइतबारसम्म चल्नेछ ।
शास्त्रीय मान्यताअनुसार, आमा–बुबा, पुर्खा, दिदीबहिनी, दाजुभाइ, पत्नी, गुरु-शिष्य लगायत दिवङ्गत आफन्त सबैलाई यस अवधिमा तर्पण, पिण्ड दान र जल अर्पण गर्ने चलन छ । कुशे औँसीदेखि नै पितृ आत्मा घर–आँगन वरपर आइपुगेर सन्तानको श्राद्ध प्रतीक्षा गरिरहेको विश्वास गरिन्छ ।
कुन तिथिमा कसको श्राद्ध ?
कसको श्राद्ध कुन तिथिमा गर्ने भन्ने कुरा पनि शास्त्रमा स्पष्ट गरिएको छ । कुमार अवस्थामा मृत्यु भएकाको पञ्चमीमा श्राद्ध गरिन्छ भने आमा वा स्त्रीहरूको श्राद्ध गर्न आश्विन कृष्ण नवमीलाई अर्थात मातृ नवमीलाई उत्तम मानिन्छ । परिवारका पुर्खा वा बुबाले संन्यास लिएको अवस्थामा एकादशी वा द्वादशीमा श्राद्ध गर्ने प्रचलन छ । दुर्घटना, डुबान, आगो, विष, जनावरको आक्रमण वा हिंसात्मक कारणले मृत्यु भएकाको चतुर्दशीमा श्राद्ध गर्नुपर्छ । आफ्ना पितृको तिथि थाहा नभए औँसीमा श्राद्ध गर्दा सबै पितृ प्रसन्न हुने विश्वास गरिन्छ ।
श्राद्धका नियम
श्राद्ध गर्ने दिनमा शाकाहारी, सात्त्विक भोजन मात्र ग्रहण गर्नुपर्ने मान्यता छ । मासु, लसुन-प्याज, मुसुरो दाल, बैगुन, लौका, कालो नुन जस्ता तामसी भोजन वर्जित मानिन्छ । श्राद्धको दिन अरूको अन्न नखानु, ब्रस वा मलम प्रयोग नगरी दतिउनले दाँत माझ्नु, स्नान गरेर शुद्ध वेशभूषा अपनाउनु पर्ने शास्त्रीय नियम छ ।
कस्ता अन्न प्रयोग नगर्ने ?
महालय श्राद्धमा प्रसाद, पिण्ड आदिका निमित्त पाकेको अन्नको प्रयोग गर्नुपर्दछ । अन्नमा किरा परेको छ, अन्नहरूमा कुकुर तथा कुखुराहरूले दृष्टि दिएको भने ती अन्नहरू प्रयोग नगर्नु भनिएको छ । श्राद्धको समयमा मुसुरीको दाल, गाजर, कुबिण्डो, लौका, बैगुन, कालो नुन, प्याज तथा लसुन चलाउन हुँदैन ।
कस्ता रङका फूलहरु प्रयोग गर्ने
पहेँलो सेतो फुलहरू चढाउनु पर्दछ । चन्दन चलाउँदा पहेँलो चलाउनु पर्दछ । पहेँलो तथा सेतो चन्दन सत्वगुणको प्रतीक हो । रातो चन्दन चढाउनु हुँदैन किनकि रातो चन्दन भनेको तमोगुणको प्रतीक हो ।
पिण्ड र अन्नको परम्परा
श्राद्धमा चामल, दूध, घिउ, चिनी मिसाएर पिण्ड चढाइन्छ । पिण्डको आकार श्राद्धको प्रकारअनुसार फरक हुने बताइन्छ-एकोदृष्टमा सरिफाको फल जत्रो, वार्षिकमा नरिवलको दाना जत्रो, तिर्थ श्राद्धमा अण्डा जत्रो आदि ।
गरिब ब्राह्मणलाई भोजन
श्राद्धमा मासु खाने, चोरी गर्ने वा अपवित्र कर्म गर्ने ब्राह्मणलाई बोलाउनु नहुने शास्त्रीय उल्लेख छ । शुद्ध, सात्त्विक ब्राह्मणलाई अन्न, फलफूल र दक्षिणा दिनुपर्छ भन्ने परम्परा छ ।
श्राद्ध गर्न नसकिए कहिले गर्ने ?
व्यक्तिगत वा सामाजिक कारणले समयमा श्राद्ध गर्न नसकिए दीपावलीको औँसी, अथवा मङ्सिर भित्रै वैकल्पिक तिथि रोजेर गर्न सकिने धार्मिक ग्रन्थमा उल्लेख छ । तर पितृलाई प्रसन्न गराउन आश्विन कृष्णपक्षमै श्राद्ध गर्न सर्वोत्तम मानिन्छ ।
शास्त्रअनुसार, महालय श्राद्ध गर्ने सन्तानले आयु, आरोग्य, ऐश्वर्य र मनोरथ प्राप्त गर्ने विश्वास छ । सोह्र श्राद्ध सकिए लगत्तै दुर्गा पक्ष, दसैँ र तिहार जस्ता पर्व आउने भएकाले पहिले पितृको आशीर्वाद लिएर मात्र देव पूजा गर्नुपर्छ भन्ने परम्परा छ ।