विराटनगर,भदौ २१-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन संविधानले नरोकेको बताएका छन् । कोशी प्रदेश पुगेका सभापति देउवाले विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति र उपराष्ट्रपति भइसकेको व्यक्तिलाई सक्रिय राजनीतिमा आउन कानुनी अड्चन नभएको बताए ।
एमालेको विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउन हुने वा नहुने भन्ने बहस भइरहेको बेलामा कांग्रेस सभापति देउवाको यस्तो अभिव्यक्ति आएको छ । विमानस्थलमा देउवाले पत्रकारहरूसँग भने, ‘मलाई धेरै थाहा छैन अनि, संविधानमा पाइन्छ भन्या पनि छैन, पाइन्न भनेको पनि छैन ।’
एमालेको सक्रिय राजनीतिमा आउने भण्डारीको निर्णयपछि एमाले केन्द्रीय कमिटीले सदस्यता नै नवीकरण नगर्ने निर्णय गरेको छ ।भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने एमालेको उक्त निर्णयले अहिले विवाद भइरहेको छ । तर, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ भने मओवादी केन्द्रको सक्रिय राजनीतिमा प्रवेश गरिसकेका छन् । उनलाई माओवादी केन्द्रले उपाध्यक्ष बनाएको छ ।
केही समयअघि भने देउवाले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा नल्याउन एमालेलाई दबाब दिएको सार्वजनिक भएको थियो । सेनाको परमाधिपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा आउँदा सुरक्षा र सूचनाको संवेदनशीलतादेखि नैतिकताको समेत प्रश्न उठ्ने देउवाले एमाले नेताहरूलाई सुनाएका थिए । देउवाको उक्त भनाइपछि एमालेको केन्द्रीय कमिटीले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो ।
एमालेमा भण्डारीको विषय विवादमा परिरहेको र महाधिवेशनमा समेत विषय उठिरहेको बेलामा देउवाको अभिव्यक्तिलाई भने अर्थपूर्ण रूपमा हेरिएको छ । विराटनगरमा देउवाले संविधान संशोधन तत्कालन नहुने पनि बताए । अहिले दुईतिहाइ नपुग्ने भएकोले संविधान संशोधनको प्रक्रिया अघि नबढेको उनले बताए । साथै, सरकारका मन्त्री हेरफेरको विषयमा कुराकानी नभएको पनि उनले बताए ।