भक्तपुर, २४ साउनः
गोलाकार पारेर काटिएका मूलाका चानालाई सिन्काले घोचेर डल्लो र अली लाम्चो बनाइएको भातमा अड्याइएको छ ।
छरिता रोटीसँगै क्वाँटीलगायत विभिन्न तरकारी र खानेकुरा एउटा ठूलो पातमाथि राखिएका छन् । त्यही पातलाई नाङ्लो वा किस्तीमाथि राखेर रक्षाबन्धन धागो र सिन्दुरसमेत त्यसमै राखेर छेवैमा धुवाइरहेको सुगन्धित धूप बालेर यहाँका किसान खेतमा पुगेका छन् ।
सुन्दा पनि कतिपयलाई अचम्म लाग्न सक्छ, भ्यागुताको पूजा र भ्यागुतालाई भात !
तर भक्तपुरका नेवार समुदायका किसानले सयौँ वर्षदेखि यो परम्परालाई जीवित राख्दै आएका छन् । जनैपूर्णिमाका दिन अधिकांश मठमन्दिरमा भिड चुलिँदै जाँदा भक्तपुरका किसान भने विभिन्न परिकार बोकेर भ्यागुतालाई भात खुवाउन आआफ्ना खेततिर लाग्ने गर्दछन् ।
आफ्ना खेतमा पुगेर आलीमा टुक्रुक्क बसेर भ्यागुतालाई पाहुनाका रुपमा डाक्छन् र किसानले भ्यागुतालाई परिकार छाडिदिन्छन् ।
सामुन्ने नआए पनि तिनलाई रक्षाबन्धनको धागो त्यहीँ छाडिन्छ । साङ्केतिक रूपमा सिन्दुर पहि¥याइन्छ । किसानले ऐनाका रुपमा (भातमा गाडिएका मूलाका चाना) देखाइदिन्छन् । किसानले खेतमै छाडेर गएको परिकार भ्यागुता आएर खाने विश्वास किसानले गर्ने गरेका छन् ।






