काठमाडौँ, २३ साउनः
कुनै–कुनै युवती र महिलाहरू महिनावारी हुनुभन्दा केही दिनअगाडिदेखि नै अप्ठ्यारो महसुस गर्न थाल्छन्।
त्यो बेला उनीहरूमा महिनावारीमा हुने केही पूर्वलक्षणहरू देखापर्छन्, जसलाई महिनावारी हुने पूर्वलक्षणहरू पी.एम.एस. (Pre-menstrual syndrome) भनिन्छ । जस्तै:
– स्तन दुख्नु
– तल्लो पेट दुख्नु
– कब्जियत हुनु
– थकित महसुस हुनु
– तल्लो पेट या ढाडका मांसपेशीहरू दुख्नु (वटारिनु)
– योनीको चिसोपनमा परिवर्तत हुनु
– अनुहार चिल्लो हुनु वा डन्डीफोर आउनु ।
– मन ठेगानमा नभएको जस्तो लाग्नु वा वैराग लाग्नु ।
धेरै महिलाहरूलाई प्रत्येक महिना मासिक श्राव हुँदा उल्लिखित लक्षणहरूमध्ये कुनै एक दुई लक्षण देखापर्छ भने कसै–कसैलाई यीभन्दा बढी लक्षणहरू देखापर्न सक्छन्। यी लक्षणहरू प्रत्येक महिना फरक–फरक ढंगले देखा पर्न सक्छन् । धेरै महिलाहरू महिनावारी हुनुअगाडि बेचैन हुने कुरा बताउँछन् भने कोही महिलाहरूलाई त्यस्तो बेला कतै रचनात्मक काम गर्न मनलाग्ने गरेको पनि हुन्छ ।
यस्तोमा के गर्ने ?
यतिखेर कसो गर्दा फाइदा हुन्छ ? भन्ने कुरा प्रत्येक महिलामा फरक–फरक हुने हुनाले महिला आफैले नै थाहा पाउनुपर्ने हुन्छ। त्यसभन्दा अघि मासिक श्राव भएको बेला तल दिइएका सल्लाहहरूअपनाउनुहोस् ।
यी उपावहरू पनि सहयोगी हुन सक्छन्ः
– नुन कम खाने किनभने नुनले शरीरभित्र बढी पानी जम्मा हुने हुँदा तल्लो पेट टन्न भएजस्तो हुन्छ ।
– कफी, चिया र कोकाकोलामा क्याफिन तत्त्व पाइने हुनाले तिनको प्रयोग कम गर्ने ।
– प्रोटिन बढी भएको खाना अण्डा, चना, मटर, भटमास माछामासु, दूध आदि बढी खाने। यस्तो खाना बढी खाँदा शरीरबाट पानी बाहिर जाने हुनाले तल्लो पेट कम भरिएको र कसिएको जस्तो हुँदैन ।
– गाउँघरमा यस्तो बेला फाइदा हुने भनेर प्रयोग गरिने जडीबटीको प्रयोग गर्ने।
– व्यायामले पनि महिनावारी पूर्व हुने लक्षण घटाउन मद्दत गर्छ ।
(हेस्पेरियन हेल्थ गाईडबाट)