काठमाडौँ, १७ साउन:
गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले निर्यात गरेका वस्तुमा भटमास तेलको हिस्सा सबैभन्दा धेरै छ ।
फलामजन्य वस्तु र धागोपछि बढी निर्यात भएका वस्तुको चौथो स्थानमा सूर्यमुखी तेल छ । नेपालको आफ्नै उत्पादन नभइ बाहिरबाट आयात गरेर प्रशोधन र प्याकेजिङ गरी निर्यात भइरहेका यी वस्तुको आयात र निर्यात गत आर्थिक वर्षमा अस्वभाविक रूपमा बढेको देखिएको छ ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गत आवमा भटमास तेलको निर्यात ११ हजार सात सय ३२ प्रतिशतले बढेको छ । नेपालले गतवर्ष गरेको कूल निर्यातमा भटमास तेलको हिस्सा मात्रै ३८ दशमलव ५ प्रतिशत छ । कुल रू दुई खर्ब ७७ अर्बको निर्यात गर्दा भटमास तेलको हिस्सा मात्रै रू एक खर्ब छ अर्ब ७९ करोड बराबर छ ।
“समीक्षा अवधिमा भटमासको तेलको निर्यातमा ११ हजार ७३३ प्रतिशतले वृद्धि भई रू एक खर्ब छ अर्ब ७९ करोड पुगेको छ । फलाम तथा फलामजन्य उत्पादनको निर्यातमा छ दशमलव ०१ प्रतिशतले ह्रास आई रु १६ अर्ब ३६ करोडमा झरेको छ”, केन्द्रले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापार वस्तुस्थिति प्रतिवेदनमा भनिएको छ ।
यस्तै, सूर्यमुखी तेलको निर्यातमा सात हजार ४३६ प्रतिशतले वृद्धि भई रु १२ अर्ब ३३ करोड पुगेको पनि प्रतिवेदनमा उल्लेख छ । केन्द्रका अनुसार गत आवमा धागोको निर्यातमा १९ दशमलव ८५ प्रतिशतले वृद्धि भई रु १४ अर्ब ४० करोड पुगेको छ । ऊनी गलैँचाको निर्यातमा पनि एक दशमलव ९३ प्रतिशतले वृद्धि भई रु १० अर्ब ७८ करोड पुगेको छ ।
विदेशबाट कच्चा र अर्धप्रशोधित आयात गरेर सामान्य मूल्य अभिवृद्धिपछि निर्यात भइरहेका वस्तुको हिस्सा बढ्दै जाँदा नेपालका आफ्नै उत्पादनमा निर्यात भने अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको देखिएको छ ।