पाटन १६ साउनः
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशी लोकतान्त्रिक चरित्रसहित नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका बताउनुभएको छ ।
नेपाली कांग्रेसको थारु विभागले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘वर्तमान अवस्थामा थारु समुदायको सामाजिक, आर्थिक, राजनीतिक अवस्थाः अवसर र चुनौती’ विषयक विचार गोष्ठीमा उहाँले नेपाली कांग्रेस थारु समुदायको उत्थान र विकासका लागि सधैँ इमान्दार भएर प्रयासरत रहेको बताउनुभयो ।
“देशमा कुनै पनि एकल जातिको बहुमत छैन, यहाँ सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका छन् ।
संविधानले पनि आदिवासी, जनजाति सबैलाई समेटेको छ, समावेशी लोकतन्त्रको मूल्यमान्यता अनुसार थारु समुदायले आफ्नो भूमिका निर्वाह गरिरहेको छ”, सभापति देउवाले भन्नुभयो ।
उहाँले नेपालका थारुहरूले जुनसुकै अप्ठ्यारो परिस्थिति आए पनि सधैँ देशप्रतिको इमान्दारिता कायम राख्दै आएका बताउँदै थारु समुदायको चरित्र लोकतान्त्रिक विशेषता, सामाजिक संरचना र परम्पराले स्पष्ट देखाउने धारणा राख्नुभयो ।