काठमाडौं, साउन १२ –
सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै बेपत्ता भएका छन् ।
गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बेपत्ता हुनेमा उर्मिला हायुसहित उनका ६ छोरा, ६ छोरी, १ बुहारी, १ नातिनी र १ जना ज्वाइँ रहेका छन् ।
घटनाबारे सूचना पाउने बित्तिकै प्रहरीको टोली हायुको घरमा पुगेको थियो । हायुको घर एकान्तमा रहेकाले ढिलो सूचना आएको बुझिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार हायुको घरमा सामान्य क्षति देखिएको छ । हायु परिवारले पालेको कुखुरा, बाख्रा, भैंसी अलपत्र अवस्थामा छन् । घर नजिकैको एक छाप्रोमा आगो लागेर निभाइएको जस्तो पनि देखिएको छ । काठहरू डढेका छन् । केही लुगाहरू झुन्डाएर राखिएको छ । पकाउने भाँडाहरू पनि घर बाहिरै देखिन्छ ।
बेपत्ता हायु परिवारले गत बिहीबार साउन ८ गते घरमै सुँगुर काटेर खाएको पाइएको छ । त्यसैगरी साउन ८ गते बिहीबार नै स्थानीय निकायले लोपोन्मुख हायु समुदायले पाउने भत्ता बापतको रकम वितरण गरेको थियो । उनीहरुले प्रतिव्यक्ति ४ हजारको दरले ३ महिनाको भत्ता रकम बुझेका थिए ।
परिवारसहित हराइरहेकी उर्मिला हायूका श्रीमान् सने हायू पनि तीन वर्षअघि बेपत्ता भएको र पछि जंगलमा हाडखोर भेटिएको स्थानीयले जनाएका छन् । स्थानीयका अनुसार हायू करिब तीन वर्षअघि घरबाटै बेपत्ता भएका थिए । खोजी गर्दा कतै नभेटिएका हायूको हाडखोर केही महिनाको अन्तरालमा नजिकैको जंगलमा भेटिएको थियो ।
अहिले परिवार नै वेपत्ता हुँदा गाउँमा त्रास फैलिएको छ । कतिपय स्थानीयले ऋण तिर्न धेरै भएकाले गाउँ छोडेर गएको हुनसक्ने आशंका गर्दै प्रहरीलाई बताएका छन् ।
अहिले परिवार खोज्न प्रहरी सक्रियताका साथ खटिएको छ । परिवार खोज्न रामेछापमा पनि प्रहरी परिचालन गरिएको जनाइएको छ । रामेछाप नगरपालिकास्थित हायु बस्तीमा कोही आफन्तको घरमा गएको हुन सक्छ भनेर त्यहाँ पनि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।






