काठमाडौँ,९ साउन
चुरे जंगलको नजिक पर्ने सिरहाको गोलबजार नगरपालिका मुसहर्निया पुराण्डिह गाउँमा आपसी विवादको क्रममा आफ्नै भाइले धारिलो हतियार प्रहार गरी दाजुको हत्या गरेका छन् ।
मदिरा सेवन गरी घर फर्किएका गोलबजार-३ मुसहर्निया पुराण्डिहका करिब २५ वर्षीय श्याम सदाले धारिलो हतियार प्रहार गर्दा बिहीबार राती सहोदर दाजु करिब ३५ वर्षीय लेलहा भनिने मोतिराम सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारले घटनाको पुष्टि गर्दै मृतकको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल पठाइएको छ । घटनालगत्तै फरार भएका भाइको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।
बिहीबार राती करिब ७ र ८ बजेको बीचमा घटना भएको हो । झण्डै डेढ घण्टापछि आफूहरुकहाँ खवर आए लगत्तै प्रहरी परिचालन गरिएको गोलबजार प्रहरी प्रमुख प्रहरी निरीक्षक गोविन्द प्रसाद साहले जानकारी दिए । उनका अनुसार प्रहरी घटनास्थल पुग्दा स्थानीयले दाजुलाई अस्पताल पठाइसकेको र भाइ समेत फरार भइसकेका थिए ।
‘घटनास्थलमा प्रयोग गरिएको हतियार, प्रहार गर्ने व्यक्ति समेत भेटिएन’ उनले भने, ‘फरार रहेका भाइको खोजीका लागि प्रहरी परिचालन गरिएकाे छ ।’
गाउँबाट मदिरा सेवन गरेर घर फर्किए लगत्तै श्याम र उनकी श्रीमती कौशिल्यादेवी झगडा भएपछि छुट्याउन गएका दाजु मोतिराममाथि धारिलो हतियार प्रहार भएको गोलबजार-३ का वडाध्यक्ष धनप्रसाद मोक्तानले जानकारी दिए । मजदुरी गरेर जीविका चलाउँदै आएका मृतक दाजुकी श्रीमती गर्भवती छिन् ।






