काठमाडौं साउन ५
नक्कली अडियो बनाएर सिधाकुरा अनलाइन मिडियालाई उपलब्ध गराउने राजकुमार तिमिल्सिना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरीको टोलीले आइतबार (साउन ४) साँझ उनलाई पक्राउ गरेको कोसी प्रदेश प्रहरी प्रमुख एवं डीआईजी ईश्वर कार्कीले जानकारी दिए ।
राजकुमारलाई सर्वोच्च अदालतले ६ महिना कैद सजाय तोकेको थियो । सोही प्रकरणमा सर्वोच्चले गएको असोज १३ गते सिधाकुरा अनलाइनका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगानालाई अदालतको अवहेलना कसुरमा दोषी ठहर गर्दै तीन महिना कैद सजाय तोकेको थियो । तर, उनीहरूले क्षमायाचना गरेपछि सात दिन मात्र जेल बसेर छुटेका थिए । तिमिल्सिना भने फरार थिए ।
उनले सर्वोच्चकै न्यायाधीश र केही मिडिया हाउस सञ्चालकको योजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुद्दामा ‘सेटिङ’ हुने गरेको नक्कली अडियो तयार पारेको खुलेको थियो ।






