काठमाडौँ ,०२ साउन ।
नेकपा माओवादी केन्द्रको विशेष महाधिवेशनको सम्भावना घर्केको छ । गत वर्ष पुस २३ गते काठमाडौँमा सम्पन्न केन्द्रीय समिति बैठकले ६ महिना पूर्व–पश्चिम मार्ग केन्द्रित जागरण अभियान चलाउने र ६ महिना विशेष महाधिवेशनको तयारी गर्ने निर्णय गरेको थियो ।
तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठक नबोलाएर साउन १६ गते स्थायी समिति बैठक बोलाएका छन् । पार्टीको निर्णय अनुसार असारसम्म अभियान र केन्द्रीय समिति बैठक सम्पन्न भएर महाधिवेशनको टुङ्गो लागि सक्नुपर्थ्यो । अहिले पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियान सम्पन्न भएपनि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान कास्कीसम्म मात्र सम्पन्न भएको छ ।
वर्षा लगत्तै थाँती रहेको अभियान सम्पन्न गरेपछि मात्र केन्द्रीय समिति बैठक बस्ने सम्भावना रहेको उपमहासचिव हरिबोल गजुरेलले बताए । आगामी केन्द्रीय समिति बैठकले नियमित महाधिवेशनको मिति घोषणा गर्न सक्ने भएकाले विशेष महाधिवेशन नहुने उनले स्पष्ट पारे ।
‘आठौँ महाधिवेशन सम्पन्न भएको ६ महिनापछि विशेष महाधिवेशन बोलाउने अध्यक्षले घोषणा गर्नुभएको थियो । अब नियमित महाधिवेशन आउनै एकवर्ष बाँकी रहेकाले विशेष महाधिवेशन हुने सम्भावना छैन’, उनले भने ।
२०७८ साल पुसमा राष्ट्रिय सम्मेलनलाई रूपान्तरण गरी आठौँ महाधिवेशन सम्पन्न गरेकाले ६ महिनाभित्र विशेष महाधिवेशन बोलाउने अध्यक्ष प्रचण्डले घोषणा गरेका थिए । तर चार वर्ष पुग्न लाग्दा समेत माओवादीले महाधिवेशनको कुनै सुरसार गरेको छैन ।
अर्का उपमहासचिव जनार्दन शर्माले आगामी मङ्सिरमा विशेष महाधिवेशन गर्ने पछिल्लो केन्द्रीय समितिले निर्णय गरेकाले निर्धारित समयमै हुनुपर्ने बताएका छन् ।
‘हामीले आठौँ महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्रै विशेष महाधिवेशन गर्नुपर्थ्यो । तर चार वर्ष हुन लाग्दा समेत महाधिवेशन हुन सकेन । पछिल्लो केन्द्रीय समिति बैठकले मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेको थियो । पार्टीलाई विधि, पद्धति र प्रक्रियाबाट अगाडि बढाउनका लागि नियमित होइन विशेष महाधिवेशन बोलाउनुपर्छ’, उनले भने ।
शर्माले पार्टीभित्र नेतृत्वको टकराब भन्दा पनि नीति, विधि, पद्धति, विचार, सिद्धान्तको मन्थन हुनुपर्ने अडान आफ्नो यतावत रहेको बताए ।
यद्यपि विशेष वा नियमित महाधिवेशन नभई एकता महाधिवेशन पनि हुन सक्ने नेताहरूले सम्भावना देखेका छन् । नेपाल समाजवादी पार्टी(नेसपा) महिन्द्र राय यादव, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायतसँग पार्टी एकता गरी एकता महाधिवेशन गर्न सकिने सम्भावना रहेको अर्का उपमहासचिव मातृका यादव बताउँछन् ।
‘गत वर्ष पुसमा सकिएको केन्द्रीय समिति बैठकले आगामी मङ्सिरसम्म विशेष महाधिवेशन गर्ने भनिएको हो । जागरण अभियान नै नसकिएकाले त्यो सम्भावना देखिँदैन । नियमित महाधिवेशन आउन नै डेढ वर्ष बाँकी छ’, यादवले भने, ‘विप्लवजी, महिन्द्रजी लगायतका पार्टीसँग पनि एकताका लागि पहल भइरहेको छ । विचार मिल्ने सबै वामपन्थी दलहरूसँग एकता गरेर एकता महाधिवेशन हुन सक्ने सम्भावना पनि छ ।’
२०८० साल साउनको तेस्रो हप्ता काठमाडौँमा सम्पन्न केन्द्रीय समिति बैठकले भदौदेखि तीन महिने जागरण अभियान सम्पन्न गरेर मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोही वर्ष फागुनमा विधान अधिवेशन बोलाएपछि महाधिवेशनको मिति टरेको थियो । पार्टीको हरेक आन्तरिक बैठकमा विशेष महाधिवेशन बोलाउन पर्नु दबाब बढ्दै गएपनि तिथि मिति घोषणा गर्न नेतृत्वले आनाकानी गरिरहेको माओवादीकै नतहरूको गुनासो छ ।