काठमाडौँ, २३ जेठः
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालविरुद्ध मुद्धा दायर हुनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिशोधको गन्ध आएको टिप्पणी गरेका छन् ।
संसद भवन परिसरमा पत्रकारहरुलाई प्रतिक्रिया दिदै नेपालविरुद्ध मुद्धा दायर हुनुमा राजनीतिक प्रतिशोधको गन्ध आएको बताएका हुन् ।
प्रचण्डले भने- ‘अदालतले नेपालमाथि न्याय गर्छ भन्ने ठान्छु । तर कुरा के छ भने प्रधानमन्त्रीजीको अलिकति राजनीतिक प्रतिशोधको गन्ध आएको छ । अख्तियारले नै कहिँ न कहिँ एउटा गम्भीर प्रश्न जन्माएको छ । पहिला अख्तियारले प्रधानमन्त्रीको बारेमा र क्याबिनेटको निर्णयमा नीतिगत निर्णयको विषय अख्तियारको क्षेत्रभन्दा बाहिरको कुरा भएकोले ललिता निवास प्रकरणमा बाबुराम भट्टराई र माधव नेपालको बारेमा जे प्रश्न उठेको थियो यो हाम्रो क्षेत्राधिकार भित्र पर्दैन, जे गर्नुछ क्याबिनेटले नै गरोस भनेर लेखेको पत्र मैले नै हेरेको छु । तर अहिले त्यहि अख्तियारले माधवजीले गरेको त नीतिगत निर्णय हो जे गरेको भएपनि, यसैमा फेरी प्रश्न गरेकोले प्रश्न उठेको छ शायद अख्तियारले जवाफ देला ।’
प्रचण्डले यसले सबै प्रधानमन्त्री छानबिनको दायरामा आउने बताउदै नीतिगत निर्णय अख्तियारको अधिकारमा पर्छकी पर्दैन भन्ने बहस शुरु भएको बताए ।