मुस्ताङ, २१, चैतः
चालु आर्थिक वर्षको हालसम्म धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा तीन लाख ९६ हजार ९०१ पर्यटक भित्रिएका छन् । गत साउनदेखि चैत १८ गतेसम्मको प्रहरी तथ्याङ्कअनुसार मुस्ताङमा आन्तरिक तथा बाह्य गरी उक्त सङ्ख्यामा पर्यटक भित्रिएका हुन् ।
मुस्ताङमा चालु वर्षको साउनदेखि हालसम्ममा तीन लाख ३३ हजार ८४५ आन्तरिक र ६३ हजार ५६ जना विदेशी पर्यटक जिल्लामा भित्रिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार साउनदेखि हालसम्ममा दुई लाख ३८ हजार ३५४ पुरुष र ९५ हजार ४९१ महिला आन्तरिक नेपाली पर्यटक मुस्ताङ भित्रिएका हुन् ।
यसैगरी, ३५ हजार ६१८ पुरुष र २७ हजार ४३८ महिला विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् । चालु आवको साउनदेखि हालसम्म आन्तरिक पर्यटक ८१ प्रतिशत र विदेशी पर्यटक १९ प्रतिशतले मुस्ताङ जिल्लाको भ्रमण गरेका प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार मुुस्ताङ भित्रिने बाह्य पर्यटकमध्ये ८० प्रतिशत भारतीय र २० प्रतिशत अन्य मुलुकका रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गत आवमा आन्तरिक तथा बाह्य पर्यटक गरी चार लाख ५४ हजार ३२६ ले मुस्ताङको भ्रमण गरेका थिए । जसमध्ये आन्तरिक तीन लाख ५४ हजार ९२७ र बाह्य ९९ हजार ३९९ छन् । पछिल्लो समय क्रमिक रूपमा सडक सञ्जाल सुधार हुँदै जान थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि भइरहेका प्रहरी निरीक्षक अधिकारीको भनाइ छ । उहाँका अनुसार जिल्लाको पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथधाम र कागबेनी श्राद्धस्थलमा तीर्थ गर्न आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।














