काठमाडाैं फागुन १६,
भूकम्पपछि आत्तिएर भाग्ने क्रममा सिन्धुपाल्चोकमा एक जना सामान्य घाइते भएका छन् । उनी जिल्ला कारागारका कैदी हुन् ।
आत्तिएर भाग्ने क्रममा लड्दा उनको हात भाँचिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आज बिहान २ बजेर ५२ मिनेटमा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।
प्रमुख जिल्ला अधिकारी किरण थापाले कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको जानकारी आएको बताए । उनका अनुसार भोटेकोशी गाउँपालिका वडा नम्बर ३ स्थित दुगुनागढीमा पहिरो खसेको छ । अरू विवरण आउन बाँकी छ ।
‘अहिलेसम्म क्षतिको ठूलो विवरण आएको छैन । अब बिहान भयो क्षतिको विवरण आउला, उनले भने, ‘प्रहरीलाई पनि विवरण संकलन गर्न भनेका छौं ।’
काठमाडौं आसपासका जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । मध्यरातमा मानिसहरू सुतिरहेको समयमा भूकम्पको धक्का महसुस गरिएको थियो ।
भूकम्पको धक्का पूर्वी नेपालमा ताप्लेजुङ, विराटनगर, सुनसरीलगायत जिल्लामा पनि महसुस गरिएको थियो । पश्चिम नेपालको पोखरा, पाल्पामा समेत महसुस गरिएको थियो ।







