काठमाडौँ, ८ फागुनः
स्थानीय पहिचान र सम्भावना प्रवर्द्धनका लागि काठमाडौँ महानगरपालिका वडा नं १५ को आयोजनामा यही फागुन १० देखि १७ गतेसम्म प्रथम ‘स्वयम्भू महोत्सव’ हुने भएको छ ।
वडाको प्राकृतिक सुन्दरता, मानव निर्मित धार्मिक, सांस्कृतिक तथा सामाजिक संरचना, रीतिथिति र परम्परा, मठ मन्दिर, चैत्य, गुम्बा, सत्तल, विहारसहितका प्राचीन स्मारक प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सवबाट आझेलमा परेका प्राचीन स्मारक पर्यटकीयस्थलका रुपमा प्रवर्द्धन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष इश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।
महोत्सवमा वडाबाट उद्यमशीलता र जीविकोपार्जनका लागि तालिम लिएका व्यक्ति तथा सङ्घसंस्थाले उत्पादन गरेका वस्तु तथा सामान, स्थानीय उत्पादन, तरकारी तथा फलफुल, ऊन तथा अन्य धागोबाट बनेका पहिरन प्रदर्शनीमा राखिनेछ ।
स्वयम्भूको भुईंखेल चौरमा महोत्सव हुनेछ । भगवान् पाउको धर्मचक्र पार्कमा प्रदर्शनी र वडास्तरीय विपद् व्यवस्थापन, खोज उद्धार तथा पुनःस्थापना प्रदर्शनी हुनेछ । महोत्सवमा करिब ६० वटा स्टलबाट प्रदर्शनी र सेवा प्रदान गरिनेछ ।







