काठमाडाैं, माघ २९ –
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा डोटीको बडीकेदार गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१४ बस्ने २९ वर्षीय पूर्णबहादुर जेठारा र नुवाकोट बेलकोटगढी नगरपालिका-१२ घर भई काठमाडौं नागार्जुन नगरपालिका-२ बस्ने ३७ वर्षीय राज कुमार लामा रहेका छन् ।
पक्राउमध्ये पूर्णबहादुरले पोर्चुगल पठाइदिछु भन्दै ३ जना पीडितहरूबाट ९ लाख रूपैयाँ र राजकुमारले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पूर्णबहादुरलाई काठमाडौं महानगरपालिका-१४ बाट र राजकुमारलाई काठमाडौं नागार्जुन नगरपालिका-२ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।







