काठमाडाैं, माघ २३ –
नेपाल स्टक एक्सचेन्ज(नेप्से) झिनो अङ्कले घटेको छ ।
बुधवार नेप्से परिसूचक ४.४५ अङ्कले घटेर २७११.४५ को विन्दुमा बन्द भएको हो । बुधबार १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता शेयरको खरिदबिक्री हुँदा ८ अर्ब ९५ करोड ८० लाख ७ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन मङ्गलवार मात्रै १४.०८ अङ्कले घटेको शेयर बजारमा ८ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको थियो ।
आज उपकार लघुवित्त वित्तीय संस्था र छ्याङदी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । यी दुवै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
यसका साथै सामुदायिक लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैङ्कको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको छ ।
बुधबार कारोबारका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड ३३ करोड ७६ लाख ३९ हजार रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।