१० माघ, काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस हेर्दाहेर्दैमा राखिएको छ ।
जिल्ला अदालत रुपन्देहीमा जारी बहस नसकिएपछि भोलि पुनः हुनेगरी आज हेर्दाहेर्दैमा राखिएको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछाने हिजो अदालत उपस्थित भएका थिए । हिजो उनको बयान भएको थियो भने आजबाट थुनछेक बहस सुरु गरिएको हो ।
बुधबार नै अदालतमा हाजिर भएका लामिछानेलाई इजलासले पत्नी निकिता र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश गरेको थियो । लामिछानेविरुद्धको मुद्दामा शुक्रबार सुरुमा जाहेरवाला तर्फका वकिलहरू वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता आर्सी गौतमले बहस गरेपछि लामिछानेका वकिलहरूले बहस गर्नेछन् ।
लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्तसहितका अधिवक्ताको बहस सकिएपछि सरकारी वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी बहस गर्नेछन् । त्यसपछि भने न्यायाधीशले थुनछेक आदेशमार्फत रवि पुर्पक्षका लागि थुनामा जाने, धरौटीमा रिहा हुने वा साधारण तारिखमा रिहा हुने आदेश सुनाउनेछन् ।