गण्डकी, ९ माघ :
उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकार कुनै पनि बहानामा नढल्ने स्पष्ट पार्नुभएको छ ।
नेकपा (एमाले) कास्कीद्वारा आज पोखरामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सरकार टिकाउने मात्रै कर्तव्य नभई यसलाई सफल र परिणाममुखी बनाउनु आजको मुख्य जिम्मेवारी भएको बताउनुभयो ।
मुलुकमा बढेको अस्थिरता र व्यथितिको अन्त्यगरी राष्ट्र र जनताका पक्षमा परिणाममुखी काम गर्ने लक्ष्यका सरकार अघि बढेको बताउँदै उहाँले विषम परिस्थितिमा नेपाली कांग्रेस र एमालेबीच सात बुँदे सहमतिका साथ गठबन्धन भएको स्पष्ट पार्नुभयो ।
यो सरकारप्रति नागरिकले गरेको आशा र भरोसालाई छिटोछरितो पूरा गर्न अध्यादेश ल्याएको बताउँदै उहाँले संसद्बाट अध्यादेश पारित हुने विश्वास व्यक्त गर्नुभयो । सरकार सुशासन र विकासप्रति प्रतिबद्ध भएको बताउँदै अर्थमन्त्री पौडेलले जनताका अपेक्षालाई सम्बोधन गर्नेगरी सरकार अघि बढिरहेको बताउनुभयो ।
एमालेप्रति जनताको बढेको विश्वासलाई आत्मसात् गर्दै मुलुकको निर्णायक शक्ति बनाउने अभियानमा जुट्न कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो ।
एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले राष्ट्रिय एकता, स्वाधीनता, संविधान र लोकतन्त्रको रक्षाका लागि यो सरकार चट्टान भएर अघि बढ्नुपर्ने बताउनुभयो ।