चितवन, माघ ८
अमेरिकाको मिचिगनमा बसोबास गर्ने कमला वाग्लेले समाजकल्याण वृद्धाश्रममा एक छाक विशेष भोजन सहयोग गरेकी छन् ।
भरतपुर भ्रमणमा आएकी उनले आफ्नो परिवारको साथमा गएर वृद्धाश्रममा ३५ जना वृद्धवृद्धालाई बिहानको भोजन सहयोग गरेकी हुन् । उनले आफ्नो श्रीमान् भानु वाग्लेको अनुरोधमा पितृहरुलाई सम्झँदै वृद्धवृद्धालाई एक छाक विशेष भोजन खुवाउन पाउँदा खुसी लागेको बताइन् ।
भोजनको साथमा उनले वृद्धवृद्धालाई दक्षिणा पनि प्रदान गरिन् । यसअघि काठमाडौको वृद्ध आश्रममा सहयोग गर्दै आएकी उनले आफूले आगामी दिनमा देवघाटको वृद्धाश्रमहरुमा गरिने सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् । उनले खानाको लागि १० हजार रुपैयाँ र दक्षिणास्वरुप चार हजार पाँच रुपैयाँ प्रदान गरिन् । वृद्धाश्रमको कर्मचारी हरिबोल सत्यालले सरकारी बजेटले भन्दा पनि यस्तै सहयोग दाताको सहयोगले वृद्धाश्रम चल्दै आएको बताए ।
विसं २०५२ सालमा स्थापित वृद्धाश्रममा ३५ जना वृद्धवृद्धा र ६ जना कर्मचारी रहेका छन् । वृद्धाश्रमको भान्छाकोठा निर्माणाधीन छ भने अन्य सहज व्यवस्थापनको लागि पनि ठूलो लगानी आवश्यक रहेको वृद्धाश्रमले जनाएको छ ।