काठमाडौँ, २६ पुस :
चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा मुद्रास्फीतिले वाञ्छित सीमा नाघेको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत मङ्सिर मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत मङ्सिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति छ दशमलव ०५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति चार दशमलव ९५ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षमा सरकारले मुद्रास्फीतिलाई पाँच दशमलव पाँच प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ ।
गैरखाद्य वस्तुभन्दा खाद्य वस्तुमा मूल्यवृद्धि उच्च देखिएको छ । गत मङ्सिरमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति नौ दशमलव ९९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ९२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः पाँच प्रतिशत र चार दशमलव ९२ प्रतिशतले वृद्धि भएको थियो ।
राष्ट्र बैंकका अनुसार खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४३ दशमलव ०५ प्रतिशत, दाल तथा गेडागुडीको १० दशमलव ६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको नौ दशमलव ७० प्रतिशत र घ्यू तथा तेलको नौ दशमलव ३९ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव १८ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको शून्य दशमलव ८३ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क सात दशमलव ९८ प्रतिशत, मदिराजन्य पेयपदार्थको सात दशमलव ०१ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको छ दशमलव ७५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको पाँच दशमलव २९ प्रतिशतले वृद्धि भएको छ ।