नवलपुर । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले व्यवसायीको लगानी सुरक्षाका लागि प्रदेश सरकार सधैँ तयार रहेको बताउनुभएको छ । व्यवसायीले गरेको लगानीमा कुनै सुरक्षाको खतरा भएमा आफूलाई भन्न आग्रह गर्दै मुख्यमन्त्री पाण्डेले सरकारले लगानी सुरक्षाको ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाउनुभयो ।
आजदेखि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सुरु भएको ‘दोस्रो गण्डकी प्रदेश महोत्सव–२०८१’ को समुद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले लगानीमैत्री कानुन निर्माण गर्न आफूहरु सधैँ तयार रहेको बताउनुभयो । निजी क्षेत्रले गर्ने हरेक क्रियाकलापमा प्रदेश सरकार सधैँ सकारात्मक र सहयोगी भूमिकामा रहेको उहाँले बताउनुभयो ।
गण्डकी प्रदेशमा लगानी गर्न चाहने स्वदेशी वा विदेशी उद्योगी व्यवसायीहरुले यहाँ लगानी गर्न खोज्दा गण्डकी प्रदेश सरकारको ऐनकानुन बाधक छन् भने ती सबै संशोधन गर्न आफू तयार रहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।