चितवन, १२ कात्तिक
रास्वपा चितवनको आन्दोलन जारी छ। राजनीतिक प्रतिशोध बिरुद्द आज चितवनको रत्ननगरमा प्रदर्शन गरिएको हो। प्रदर्शनमा हरि ढकाल पनि उपस्थित छन्। ढकाल चितवन क्षेत्र न १ का सांसद पनि हुन्।
विरोध प्रदर्शनमा सहभागीहरूले ‘असली सहकारी ठगलाई कारबाही गर’, ‘सहकारी पीडितलाई न्याय दे’, ‘कर छल्नेलाई कारबाही गर’, ‘मिडिया ट्रायल बन्द गर’, ‘माफियाहरूलाई कारवाही गर’, ‘भ्रष्ट सरकार मुर्दावाद’, ‘नडराउ रवि दाई-जनता तिम्रो साथमा छ’, ‘रवि दाइ हाइ हाइ’ लगायतका नारा लगाए ।
कार्यक्रमलाई सम्बोधन गर्दै हरि ढकालले राजनीतिक प्रतिशोधका आधारमा पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको उनले बताए। उनले २०८४ सम्म भ्रष्टहरू सरकारमा र आफूहरू सदन सडकमा रहने बताएका छन्। उनले पुराना दलहरूले ३५ वर्षदेखि मुलुकमा रजगज गरेको अवस्थामा गत निर्वाचनबाट रास्वपा संसदमा आएपछि उनीहरूको निद्रा हराएको बताए ।
रास्वपा चितवनले नियतवस पार्टी सभापति लामिछानेलाई पक्राउ गरेको भन्दै निरन्तर शान्तिपूर्ण आन्दोलन गर्दै आएको छ । देशमा भएको बेथितिको विरूद्धमा सबै एकजुट हुन जिल्ला सभापति कृष्ण प्रसाद भुसालले आग्रह गरे।
सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले रास्वपा सभापति लामिछानेविरुद्ध प्रहरीलाई पक्राउ गर्ने अनुमति दिएपछि प्रहरीले गत शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो । त्यस लगत्तै रास्वपाले ७ वटै प्रदेशमा सरकार विरुद्द बिरोध प्रदर्शन गर्दै आएको छ ।