चितवन, ६ कात्तिक
भरतपुर ४ रामघाट निवासी १८ वर्षीय युवा सुमंगल स्वामी (शिरिष बगाले) पैदल यात्राका लागि निस्किएका छन् । आज मंगलबार चितवनको लंकुमा रहेको लक्ष्मी बैकुण्ठनाथ मन्दिरदेखि उनले पैदल यात्रा सुरु गरेका हुन् ।
सुमंगल स्वामीले लक्ष्मी बैकुण्ठनाथ मन्दिरदेखि पूर्वि नेपालको चतराधाम हुँदै भारतको बागेश्वर धामसम्म पैदल यात्रा गरिने बताए । विश्व सान्तीको कामना, हिन्दु राष्ट्रको पहिचान विश्वभरि फैलाउन र भरतपुरलाई विश्वसामु चिनाउनुपर्छ भन्ने उद्देश्यका साथ पैदल यात्रा गर्न लागिएको उनको भनाइ छ ।
पैदल यात्राका क्रममा विभिन्न बाटोमा पर्ने विभिन्न स्थानहरुमा आफ्नो सनातन हिन्दु धर्मका बारेमा मानिसहरुलाई बताउँदै, हनुमान चालिसा पाठ गर्दै यात्रा गरिने उनले बताए । उनी भन्छन्, ‘कार्यक्रम गरिएका स्थानमा माहोल बनाएर केही न केही परिवर्तन गरेर हामी अगाडि बढ्छौं । बरु यात्रा गर्न वर्षाैं लागोस् । किनकी हामीले यही चिजका लागि जीवन अर्पेका हौं । त्यही भएर बरु वर्षाैं लागे पनि यसरी नै यात्रा गर्छौं।’
उनले पूरा यात्रा गर्ने संकल्प आफूले मात्र लिए पनि विभिन्न दुरीसम्म अन्य साथीहरु ठाउँठाउँबाट जोडिँदै जाने बताए। विभिन्न जिल्लाका संबन्धित संघसंस्थाहरुले साथ दिने गरी यो यात्रा सुरु गरिएको उनको भनाइ छ। उनले यस यात्रामा आफ्नै जिल्लाको केही दुरिसम्म भए पनि जोडिन सबैलाई आह्वान गरेका छन्।