भरतपुर, असोज ३-
सेन्ट्रल मोडल कलेजले भरतपुर महानगरका ६४ जना विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिने घोषणा गरेको छ ।
कलेजले बिहीवार पत्रकार सम्मेलनको आयोजना गरी कलेजबाट सञ्चालित व्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (बिआईएम) र व्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रममा छात्रवृत्ति घोषणा गरेको हो ।
महानगरपालिकाका २९ वटै वडाका एक/एक विद्यार्थी र यहाँका ३५ सामुदायिक विद्यालयबाट कक्षा १२ उत्तिर्ण गरेका एक/एक विद्यार्थीलाई पचास प्रतिशत छात्रवृत्ति प्रदान गरिने अध्यक्ष पौडेलले बताए ।
छात्रवृत्ति अन्तर्गत बिएचएम अध्ययनका लागि लाग्ने चार बर्षको शुल्क ६ लाख मध्ये ३ लाख र बिआएएम अध्ययनका लागि लाग्ने शुल्क ५ लाख मध्ये २ लाख पचास हजार रुपैंयामा अध्ययन गर्न पाइने सेन्ट्रल मोडल कलेजका अध्यक्ष यज्ञविलास पौडेल (वाईबी)ले जानकारी दिए ।
यस छात्रवृत्तिले विभिन्न क्षेत्रका मेधावी विद्यार्थीलाई आर्थिक समस्या बिना नै उत्कृष्ट उच्चशिक्षा हासिल गर्ने अवसर प्राप्त हुने कलेजले अपेक्षा गरेको छ । कलेजले संविधान दिवसको अवसर पारेर छात्रवृत्तिको घोषणा गरेको उनले बताए ।
सेन्ट्रल मोडल कलेजले ‘पढ्दै कमाउँदै’ अवधारणा अपनाएको छ । यो अवधारणा छात्रवृत्ति पाउने विद्यार्थीमा भने लागु नहुने अध्यक्ष पौडेल बताउँछन् । पुरै शुल्क तिरेका विद्यार्थीले पढ्दै गर्दा पार्टटाइम जागिर पनि गर्न पाउने उनले जानकारी दिए ।