चितवन, जेठ १५ –
भरतपुर ११ को मालपोत चोकमा रहेको स्टार्स मन्टेश्वरी एकेडमीले आश्रममा रहेका बालिकासँग खुसी साट्दै आफ्नो १२ औं वार्षिक उत्सव मनाएको छ ।
देवघाटमा रहेको श्रीरामजानकी बालिका आश्रमका बालिकाहरुलाई बिहानको खाना खुवाउँदै मन्टेश्वरीले वार्षिक उत्सव मनाएको हो ।
मन्टेश्वरीकी सञ्चालक जानकी खड्काले आश्रम आउँदा आश्रमका बालबालिका र मन्टेश्वरीमा आउने बालबालिकामा धेरै फरक पाएको बताइन् । उनले मन्टेश्वरीमा आउने बालबालिकालाई सामाजिक र व्यावहारिक ज्ञान सिकाउन अझ जोड दिइने बताइन् ।
२०६७ सालदेखि सञ्चालनमा रहेको मन्टेश्वरीबाट अध्ययन गरी भरतपुरका नाम चलेका विद्यालयमा गएका विद्यार्थीहरुको नतिजा उत्कृष्ट हुने गरेको भरतपुर शाखाका सञ्चालक गणेश रानाले दाबी गरे ।
उत्कृष्ट कहलिएको सो मन्टेश्वरीमा नयाँ भर्ना गर्न आउनेहरुको संख्या बढ्दै गएपछि भर्ना गर्न आएका जति सबैलाई भर्ना गर्न नसकिने अवस्थामा आफू रहेको बताउँदै उनले सबैलाई भर्ना गर्न सक्ने गरी संरचना बनाउने योजना रहेको सुनाए ।
आश्रममा मनाइएको वार्षिक उत्सवमा मन्टेश्वरीमा रहेका सम्पूर्ण शिक्षकशिक्षिकाहरु सामु आश्रमका बालिकाहरुले गीत तथा स्वस्तिवाचन गरेका थिए ।