चितवन, ९ भदौ
सनराइज स्कुलले यस क्षेत्रका विद्यार्थीहरूका लागि महत्वपूर्ण अवसरको रूपमा सनराइज मोडल युनाइटेड नेसन्स (MUN) नामक तीन दिने मेगा कार्यक्रमको उद्घाटन गरेको छ।
कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि, प्याब्सन चितवनका अध्यक्ष कीर्तिनिधि अर्यालले गरेका थिए। उद्घाटनमा सनराइज स्कुल चितवन प्रा. लि. का अध्यक्ष हेमराज शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजी प्रसाद अर्याल, पीटीए अध्यक्ष माधव अर्याल, इस्टू चितवनका उपाध्यक्ष दिवाकर पौडेललगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो।
उद्घाटन कार्यक्रमको अध्यक्षता सनराइज स्कुलका उपप्राचार्य भूमिराज तिवारीले गरेका थिए । यस बौद्धिक तथा कूटनीतिक अभ्यास सहितको कार्यक्रममा चितवन र नवलपरासीका १२ विद्यालयका १२० विद्यार्थी सहभागी भएका छन्।
सनराइज मोडल युनाइटेड नेसन्समा महासचिवको भूमिका बिबस पन्तले गरेका छन्।सहभागीहरूले तीन दिन सम्म ४ ओटा विभिन्न समितिमा विविध एजेण्डामा घनिभूत बहस गर्नेछन् । यस कार्यक्रमले विद्यार्थीहरुमा नेतृत्व बिकास, वार्तालाप कौशल र विश्वव्यापी चेतना जगाउने उद्देश्य लिएको १०+२ कार्यक्रम संयोजक जीवलाल चालिसेले जानकरी दिए।
MUN कार्यक्रमले विद्यार्थीहरूलाई विश्वव्यापी मुद्दाहरूमा अर्थपूर्ण संवादमा संलग्न हुने अवसर प्रदान गर्दै संयुक्त राष्ट्र संघका समितिहरूको बहस, छलफल र निर्णयहरूको शृङ्खला प्रस्तुत गर्ने छ।













