चितवन, भदौ ८–
केहीदिन अघि भारत उत्तराखण्डको केदारनाथ नजिकै पहिरोमा परी मृत्यु भएका चितवनको माडीका तीनजनाको शव नेपाल ल्याइएको छ । आज (शनिबार) दिउँसो गड्डाचौकी नाका हुँदै उनीहरुको शव नेपाल घरतर्फ ल्याइएको हो ।
पहिरोमा परी मृत्यु भएका चितवन माडीका तुलबहादुर परियार, कृष्ण परियार र पुर्ण नेपालीको शव नेपाल ल्याइएको हो ।
आज रातिसम्म शव घरमा पुगेपछि भोलि अन्तिम संस्कार गरिने मृतक तुलबहादुरका भान्जा गोपाल परियारले बताए। उनका अनुसार बर्खामा बाटो खराब भएकाले शव नेपाल ल्याउन समय लागेको हो। मृतक तिनै जनाको शव एउटै गाडीमा ल्याइएको छ ।
पहिरोमा परी मृत्यु भएका दैलेखका दिपक बुढाको भने केदारनाथ क्षेत्रमै अन्तिम संस्कार गरिएको हो।
बिहीबार राति केदारनाथ नजिकै फाटा भन्ने ठाउँमा पहिरोमा परी ४ जना नेपाली कामदारको मृत्यु भएको थियो । चारैजनाको शव बद्रीनाथस्थित सरकारी अस्पतालमा पोष्टमार्टम गरिएको हो ।












