चितवन, ८ भदौ
तनहुँ बस दुर्घटनामा मृतकको शव लिन भारतीय बिमान चितवन आउने भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादवका अनुसार शनिवार अपरान्ह ३ बजे बिमान भरतपुर विमानस्थलमा आउने भएको हो। अहिलेसम्म १६ जनाको शब पोष्टमाटम सकिएको र ११ जनाको पोष्टमाटम गर्न बाँकी रहेको प्रजिव यादवले जानकारी दिनुभयो ।
तनहुँ बस दुर्घटनाका घाइते यात्रीहरूलाई भेट्न र मृतकका शव लिएर जान भारत सरकारले आफ्ना एक जना केन्द्रीय मन्त्रीलाई काठमाडौँ पठाएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज बिहान काठमाडौँ आएकी हुन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लगत्तै घाइतेहरुको अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल गएकी छिन् ।
शुक्रबार पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एकजनाको भरतपुरमा मृत्यु भएको हो ।












