चितवन, साउन २३-
गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यसम्पादन मूल्यांकन सार्वजनिक गरेको छ । मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग कार्यसम्पादन सम्झौता गरेको थियो ।
शान्ति सुरक्षा र अमनयन, सुशासन र सेवा प्रवाह, सामाजिक सुधार र रुपान्तरण, विपद् व्यवस्थापन, समन्वय र सहजिकरण, सदाचार र आर्थिक अनुशासन लगायत विभिन्न बुँदामा प्रजिअको मुल्यांकन गर्ने गरिन्छ ।
कार्यसम्पादनको कुल पूर्णाङ्क १०० रहेको छ । कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय चितवन ९१.५ अंकका साथ ४९औँ नम्बरमा झरेको छ । अघिल्लो आव २०७९/८० मा चितवन ६६.१९ अंकका साथ ७५औँ स्थानमा थियो ।
यस हिसावले चितवनको कार्यसम्पादनमा केहि सुधार भएको देखिन्छ । चालु आवको कार्यसम्पादन नतिजा मन्त्रालयले आगामी आवमा सार्वजनिक गर्ने छ ।
शिर्ष स्थानमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ९८ अंक प्राप्त गरेको छ । दोस्रो नम्बरमा पाल्पा रहेको छ, यसले ९७.७५ अंक पाएको छ । त्यस्तै, तेस्रो नम्बरमा रहेको बागलुङले ९७.६२ अंक प्राप्त गरेको गृह मन्त्रालयले जनाएको छ ।
पुछारमा रहेको धनुषाले ७६.२५ अंक पाएको छ । त्यस्तै, पुछारबाट दोस्रो नम्बरमा उदयपुर रहेको छ । उदयपुरले ७९.२५ अंक प्राप्त गरेको छ।
९० भन्दा बढी अंक ल्याउने जिल्ला अति उत्कृष्ट, ८० देखि ९० सम्म ल्याउने जिल्ला उत्कृष्ट र ६० देखि ८० सम्म ल्याउने जिल्ला उत्तम भनि मापन गरिन्छ ।














