चितवन, साउन १९-
भरतपुर अस्पतालमा केही साता अगाडि जोडिएको एमआरआई मेसिन बिग्रिएको छ । साउन १६ गते परेको चट्याङका कारण एमआरआई मेसिनको एमप्लिफायर बिग्रिएको हो ।
अस्पतालमा राम्रोसंग अर्थिङ्ग भए पनि मेसिनमा चट्याङ्गले क्षति गरेको अस्पतालका रेडियोलोजी विभागका प्रमुख डा. केशव पौडेलले बताए ।
एमआरआई सेवा ४ दिनदेखि बन्द हुँदा बिरामीलाई समस्या पर्न थालेको छ । दैनिक १४/१५ जना बिरामीको एमआरआई हुँदै आएको डा. पौडेलले बताए । अहिले जर्मनीबाट सामानको अर्डर भैसकेको मेडिकल सुपरिटेण्डेन्ट प्राडा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
जर्मनीमा बनेको सिमेन्स कम्पनीको ‘थ्री टेस्ला ६४ च्यानल’को सो मेसिन गत जेठ २३ गते अस्पतालमा ल्याइएको थियो ।