चितवन, १६ साउन
त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीका लागि सरकारले चीनसँग सहयोग माग्ने भएको छ। गृहसचिव एकनारायण अर्यालका अनुसार बस खोज्न चीनसँग सहयोग माग्ने तयारी भएको हो ।
खोजीका लागि चीन सरकारसँग पनि अनुरोध गर्ने तयारी गरिरहेका छौं’ अर्यालले बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने । यसअघि बेपत्ता यात्रु र बस खोज्न भारतीय जनशक्तिसमेत परिचालन गरिएको थियो ।
गत असार २८ गते नारायणगढ-मुग्लिन सडकको सिमलतालमा पहिरोमा परी दुई वटा बस त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए। बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाच्न सफल भएका थिए। त्यसबाहेक बस र अन्य यात्रु फेला पर्न सकेको छैन।
नारायणी नदीदेखि गण्डक व्यारेजम्म २४ जनाको शव भेटिएको छ । तीमध्ये १९ जनाको मात्रै शव सनाखत भएको छ ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













