चितवन, १६ साउन
भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एकजना सैनिक जवानको मृत्यु भएको छ ।
नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत २७ वर्षीय सिपाही निगम नेपाली सार्कीको मृत्यु भएको हो । उनको तनहुँ भानु नगरपालिका–१२ का स्थायी बासिन्दा हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सोही गणमा कार्यरत बन्दीपुर गाउँपालिका–३ का २६ वर्षीय दिनेश थापा गम्भीर घाइते भएका छन् । गए राति बसपार्कबाट रामनगरतर्फ गइरहेको कारले विपरीत दिशाबाट आइरहेको उनीहरू सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते दुवै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको थियो । उपचारका क्रममा सैनिक जवान सार्कीको मृत्यु भएको हो ।अर्का घाइते थापाको उपचार भइरहेको छ ।
कार चालक धादिङ धुनिबेसी नगरपालिका–७ बस्ने वर्ष ४२ को राजु भण्डारी र कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













